बाजुरा जिल्लाको संक्षिप्त परिचय
बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो । केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, यहाँ पनि सहायक दरबार थियो । दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार वाज पठाउनु पर्दथ्यो । वाजभन्ने चरालाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाझ भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। शाहीबाज पार्न नसकेको झुर्रा बाझ पारेको खबर सहित पोथीलाई राजाको दरबारमा पठाएछन् । राजाले शाहीबाजको चाहना गरेको तर झुर्रा बाझ प्राप्त गरेकोले त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति छ ।
बाजुरा जिल्लाको परिचय
भौगोलिक स्थिति
क्षेत्रफल ः २१८८ वर्ग कि.मि.
खेती योग्य जमिन ः २३३४५ हेक्टर (११।५ प्रतिशत)
खेती खेती नगरिएको जमिन ः ८८१३ हेक्टर
चरण क्षेत्र ः ३८०९५ हेक्टर
वन क्षेत्र ः ९८६४६ हेक्टर
अन्य ः ४२०९० हेक्टर